संक्षिप्त विवरण
नेपालको राजधानी समेत रहेको काठमाण्डौं नेपालको पहाडी भू–भागमा अवस्थित जिल्ला हो । बागमती प्रदेशमा अवस्थित यस जिल्लाको क्षेत्रफल ४१,३६१ (DFRS, 2015)हेक्टर रहेको छ । काठमाण्डौ जिल्ला पूर्वबाट पश्चिमतिर फैलिदै दक्षिण तर्फ मोडिएको छ । पूर्वमा सिन्धुपाल्चोक, भक्तपुर र ललितपुर, पश्चिममा मकवानपुर र धादिङ, उत्तरमा नुवाकोट र सिन्धुपाल्चोक र दक्षिणमा भक्तपुर, ललितपुर र मकवानपुर जिल्लासँग जोडिएको यो जिल्ला काठमाण्डौं उपत्यकाको तीन जिल्ला मध्येको एक हो । नेपालको संविधानको धारा २९५ को उपधारा ३ बमोजिम मन्त्री परिषद्को मिति २०७३/११/२७ को निर्णय अनुसार काठमाण्डौ जिल्लामा १ महानगरपालिका र १० नगरपालिका गरी जम्मा ११ वटा स्थानीय तह कायम गरिएको छ ।
वि.सं. २०१८ सालमा वन डिभिजन कार्यालय स्थापना भए पश्चात जिल्लाका सम्पूर्ण वनक्षेत्रहरुको योजनाबद्ध रुपमा व्यवस्थापन हुन थालेको हो । यस जिल्लाको कुल क्षेत्रफलको ३६.५८ प्रतिशत (१५१२९ हे.) वन क्षेत्र रहेको छ । मिति २०७२/१२/१५ को राजपत्रानुसार शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा यस जिल्लामा आ.व. २०७२/०७३ सम्म रहेको १७४ वटा सा.व. मध्ये ३६ वटा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा गाभिएको हुँदा यस जिल्लामा हाल १३७ वटा सामुदायिक वन उपभोक्ता समूहलाई ६१७९.९८ हेक्टर वन क्षेत्र हस्तान्तरण भएको तथ्यांकमा देखिन्छ । व्यवसायिक कबुलियति वनको रुपमा ४ वटा संस्थालाई ७१.०३ हे. तथा अन्य प्रयोजन (सडक, विद्युत) को रुपमा ७ वटा संस्थालाई ३६.२४ हे गरी कुल क्षेत्रफल १०७.२७ हे. वन क्षेत्र हस्तान्तरण गरिएको छ । धार्मिक वनको रुपमा ८ वटा संस्थाहरुलाई क्षेत्रफल ४३.४८ हे. हस्तान्तरण गरिएको छ । हाल सम्म निजी वन ६ वटा २.५५ हे. दर्ता भएको छ ।